दफा १४
समितिको गठन
(१) कोषको उद्देश्य प्राप्तिको लागि सुव्यवस्थित रुपले आवश्यक कार्यक्रमहरु सञ्चालन गर्न, गराउन र कोषको सम्पूर्ण काम कारवाहीहरुको रेखदेख तथा प्रबन्ध गर्नको लागि एक सञ्चालक समितिको गठन हुनेछ ।
(२) समितिमा देहायका सदस्यहरु रहनेछन् ः-
(क)  सचिव, सहरी विकास मन्त्रालय                  – अध्यक्ष
(ख) प्रतिनिधि, अर्थ मन्त्रालय (राजपत्रांकित प्रथम श्रेणी) – सदस्य
(ग)प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (राजपत्रांकित प्रथम श्रेणी)                      -सदस्य
(घ) नगरपालिकाका प्रमुख वा उपप्रमुखहरूमध्येबाट प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनयन गरेका कम्तीमा तीन जना महिला सहित सातजना-सदस्य
(ङ) वित्तीय संस्था सञ्चालन क्षेत्रमा विशेषज्ञता हासिल गरेको अर्थ विज्ञ वा इञ्जिनियरिङ्ग विषयमा स्नातकोपाधि हासिल गरी नगरविकास क्षेत्रमा कार्यरत प्राविधिक व्यक्ति वा नगर विकाससंग सम्बन्धित निकायहरु मध्येबाट प्रतिनिधित्व हुने गरी समितिले मनोनीत गरेका दुई जना                                                       – सदस्य
(ङ१) समावेशिताको आधारमा नगर विकास सम्बन्धी विज्ञता भएका व्यक्तिहरु मध्येबाट मन्त्रालयले तोकेको कम्तीमा एक जनामहिला सहित तीन जना                                                        -सदस्य
(च) कार्यकारी निर्देशक –सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (घ) र (ङ) बमोजिम मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ । पदावधि पूरा नहुँदै कुनै मनोनीत सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि सो पद जुन प्रक्रियाबाट पूर्ति गरिएको हो सोही प्रक्रियाबाट पूर्ति गरिनेछ ।
(४) समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ, सल्लाहकार वा नगर विकास कार्यसंग सम्बन्धित लब्ध प्रतिष्ठित व्यक्तिलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।